काठमाडौं – एसिसी पुरुष यू–१९ प्रिमियर कपको फाइनलमा नेपाल यू–१९ टिम २७ रनले युएईसँग पराजित हुँदै उपविजेतामा सीमित भएको छ।
सम्पूर्ण प्रतियोगिता भरि अपराजित रहँदै फाइनल पुगेको नेपालले बलिङमा दमदार प्रदर्शन गरे पनि ब्याटिङमा भने अपेक्षा अनुसार खेल्न सकेन। दयानन्दको उत्कृष्ट बलिङले पनि टिमलाई उपाधि दिलाउन सकेन।
यो प्रतियोगिताबाट फाइनल पुगेका नेपाल र युएई, साथै तेस्रो स्थान हात पारेको मलेसियाले एसिसी यू–१९ एसिया कपका लागि छनोट सुनिश्चित गरेका छन्।
१ सय ४८ रनको लक्ष्य पछ्याएको नेपाल ३३.२ ओभरमै १ सय २० रनमा समेटियो। नेपालले निकै कमजोर सुरुवात गर्यो। जम्मा १६ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो।
निरज कुमार यादव र निश्चल क्षेत्री १–१ रनमै आउट भए भने वंश क्षेत्री ११ रनमा र दर्श सोनार खाता नै नखोली पेभिलियन फर्किए।
पाँचौँ विकेटका लागि आशिष लुहार र कप्तान अशोक धामीले पारी सम्हाल्ने प्रयास गरे। उनीहरूले ४४ रनको साझेदारी गर्दै इनिङ अघि बढाए, जुन नेपालको तर्फबाट सबैभन्दा ठूलो साझेदारी बन्न पुग्यो। आशिष २५ रनमा आउट भए।
कप्तान अशोक धामीले जिम्मेवारीपूर्ण पारी खेले। उनले ६६ बलमा ४ चौका सहित ४४ रन बनाए। त्यसपछि रोशन विश्वकर्माले १६ बलमा २५ रन जोड्दै केही आशा जगाए, तर अरु ब्याट्सम्यानबाट खासै साथ नपाउँदा नेपाल १ सय २० रनमै अलआउट भयो।
युएईका बलर युगजय शर्मा र अलि असगर सम्हाले समान ३–३ विकेट लिए भने उद्दीश सुरी र नुरउल्लाह आयोबीले २–२ विकेट लिए।
यसअघि अजमानको कारवान ग्राउन्डमा भएको फाइनलमा नेपालले टस जितेर बलिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको युएई ४५.५ ओभरमा १ सय ४७ रनमा अलआउट भयो।
नेपालले बलिङमा धमाकेदार सुरुवात गर्यो। दयानन्दले पहिलो ४ विकेट ढाल्दै युएईलाई ठुलो दबाबमा पारे।
ओपनर तथा कप्तान यायिन राय दयानन्दको बलमा रोयलद्वारा क्याच आउट भए। त्यसको केही समयमै ५ रनमै रहेको जानुउल्लाह रेहमानीलाई पनि दयानन्दले एलबिडब्लु आउट गरे।
५ रनको योगफलमै २ विकेट गुमाइसकेको युएईले सातौँ ओभरमा थप २ विकेट गुमायो। सो ओभरको दोस्रो बलमा ओपनर आयान मिसबाह ११ रनमा र पाँचौँ बलमा मुहम्मद रायन खान शून्य रनमै आउट भए, दुबैलाई दयानन्दले नै पेभिलियन फर्काए।
पाँचौँ विकेटका रूपमा पृथ्वी मधु ४ रनमा अशोक धामीद्वारा बोल्ड आउट भए। त्यसपछि अहमद खुदादत र नुरउल्लाह अबोयीले छैठौँ विकेटका लागि ५६ रनको महत्वपूर्ण साझेदारी बनाउँदै टिमलाई संकटबाट उकास्ने प्रयास गरे। नुरउल्लाह २६ रनमा अपराजित पौडेलको बलमा आउट भए। ३१.४ ओभरमा युएईले १ सय रन पुर्याइसकेको थियो।
लगत्तै ७ रन बनाएका उद्दिश सुनी पनि अपराजितकै बलमा आउट भए। सालेह अमिन ५ रनमा आउट हुँदा युएईको पारी थप दबाबमा पर्यो।
यता क्रीजमा टिकेका अहमद खुदादतले धैर्यपूर्ण र महत्वपूर्ण पारी खेले। उनले १२६ बल व्यय गर्दै ६ चौका सहित ७१ रन बनाए र टिमको स्कोर उकास्न मुख्य भूमिका खेले। अन्ततः उनलाई पनि दयानन्दले नै आउट गरे।
नेपालका लागि दयानन्द बलिङका नायक बने। उनले ६ ओभर बलिङ गर्दै मात्र १७ रन खर्चेर ६ विकेट हात पारे। अपराजित पौडेलले २ विकेट लिए।
तेस्रो स्थानको खेलमा मलेसियाले ओमानलाई ७४ रनले पराजित गर्दै प्रतियोगिताको दोस्रो रनर–अप बन्न सफल भयो। यससँगै मलेसिया पनि नेपाल र युएईसँगै एसिसी यू–१९ एसिया कपमा स्थान बनाउन सफल रह्यो।

